शुसिल सुवेदी
मेलम्ची । हेलम्बु गाउँपालिकाले सिन्धुपाल्चोक जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
मेलम्चीमा बुधबार भएको फाइनलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो ।
उपाधिसँगै हेलम्बु गाउँपालिकाले नगद १ लाख प्राप्त गरेको छ । उपविजेता चौताराले ५० हजार प्राप्त गर्यो ।
तेस्रो स्थान प्राप्त गरेको मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाले २५/२५ हजार प्राप्त गरेका छन् । सान्त्वना पुरस्कार वापत पाँचपोखरी थाङ्पाल गाउँपालिकाले १० हजार पाएको संयोजक राजनमान श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट ६ खेलाडीले समान ३/३ हजार नगद पुरस्कारका साथमा ट्रफी प्राप्त गरेका छन् ।
उत्कृष्ट खेलाडी हेलम्बु गाउँपालिकाकी फुरल्हामु पाख्रिन, उत्कृष्ट स्पाइकर चाहना तामाङ, उत्कृष्ट डिफेन्डर रीमा भुजेल र उत्कृष्ट लिफ्टर अमिना तामाङ घोषित भईन । त्यस्तै चौतारा साँगाचोकगढीकी सुस्मिता श्रेष्ठले उत्कृष्ट सर्भर र मेलम्ची नगरपालिकाकी रमिला तामाङले नव प्रतिभा खेलाडीको उपाधि पाएको मुख्य रेफ्री श्रीराम बोगटीले जानकारी दिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र उपप्रमुख भगवती नेपालले खेलाडीहरुलाई पुरस्कृत गरेका थिए ।