काठमाडौं । एनएसजेएफ खेल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार अजय राणा र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका संजय थापा सम्मानित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले १६ औं साधारण सभाको अवसरमा मंगलबार राणा र थापालाई सम्मान गरेको हो । अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका मञ्चले हरेक वर्ष स्थापना दिवसमा यो कार्यक्रम गर्दै आएको छ ।
युवा तथा खेलकुदमन्त्री दावा तामाङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले वरिष्ठ पत्रकार राणालाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरे ।
त्यस्तै युवा पत्रकार थापालाई ल्यापटप, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मानित गरे । युवा पत्रकारिता पुरस्कार एसियाली खेलकुद पत्रकार महासंघबाट उपलब्ध गराइएको हो ।
नेपाल पत्रकार महासंघको एसोसिएट शाखाको रुपमा रहेको मञ्चले यसअघि एनएसजेएफ खेल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार श्याम चित्रकार, पी खरेल, पुष्करलाल श्रेष्ठ, गोपाल बस्नेत, सीताराम अग्रहरि, राजु शिलवाललाई सम्मानित गरिसकेको छ ।
सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट दिल तामाङ र निशान राई सम्मानित भईसकेका छन् ।