नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा वैशाख १ गते रेस्लिङको महाभिडन्त हुने भएको छ ।
आरडब्लु समर स्लाईम अन्तर्गत नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको प्रतियोगिता सञ्चालनका लागि नेपाल रिङ रेसलिङ संघ र शिवपुरी गाउँपालिकाको सहकार्य गर्नेछन् ।
नयाँ वर्षका दिन दिउँसो २ बजेदेखि सुरु हुने भिडन्तमा हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टान भिडने छन ।
त्यस्तै लाइट हेभीतर्फ डेभिड र साइन, हलुका तौलमा एक्स हिरो र सिजे भिड्नेछन्।
महिलातर्फ तानु, दिलसा र डेनिकाबीच भिडन्त हुनेछ भने हार्ड कोरतर्फ द युब र थागु भिड्नेछन् । प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाउने छन् ।
आईतवार शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा पत्रकार सम्मेलन गर्दै नेपाल रिङ रेसलिङ प्रतियोगिताको बारेमा जानकारी गराएको छ ।
राजधानी काठमाडौदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकाको पर्यटकीय गन्तव्य सुर्य चौरलाई थप पहिचान दिलाउन नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजना, गाउँपालिकाको सह आयोजना र राष्ट्रिय खेलकुद परिषद, खेलकुद विकास परिषद बागमती प्रदेशको सहयोगमा सो प्रतियोगिता गर्न लागिएको रिङ्ग रेस्लिङ्ग संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिईन् ।
प्रतियोगितामा १६ खेलाडीले ५ वटा समुहमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको लाईट वेट तौल समुहको विजेताले ८ हजार, ट्रिपल थ्रेटले १० हजार, लाईट हेभी वेटको विजेताले १२ हजार, हार्डकोरका विजेताले १५ हजार र हेभी वेट विजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन ।