काठमाडौं । पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिले न्यु डाईमण्ड उचाल्यो।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार नेपाल पुलिस क्लबलाई हराएर डाईमण्डले लामो समयपछि उपाधि आफ्नो बनाएको हो ।
डाईमण्डलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी प्रतिभा माली प्रतियोगिताकी सर्वाेत्कृष्ट खेलाडी घोषित भईन् ।
चोटबाट मुक्त हुँदै कोर्ट फर्किएकी प्रतिभाले आफु पुरानै लयमा रहेको समेत प्रमाणित गरिन् ।
सर्वाेत्कृष्ट भएपछि प्रतिभाले दुखाई र डरलाई जितेर आफुले राम्रो प्रदर्शनको लागि प्रयास गरिरहेको बताईन् ।
‘यसै कोर्टमा चोट बोकेको भनेर महसुस भएन, डर थिएन मनमा, लक्ष्य ठूलो छ, यो प्रतियोगिता मात्र लक्ष्य हैन, चाँडै नै एसियन गेम खेल्दैछौ । त्यसमा पनि धेरै राम्रो प्रर्दशन गर्नुछ,’ उनले भनिन्, ‘यो दुखाई र डरलाई जितेर प्रदर्शन गर्न खोज्दैछु ।’
प्रतिभा यसै प्रतियोगिताको अघिल्लो संस्करणको फाइनलमा घाइते भएकी थिईन् । घाइते भएपछि उनी करिब एकवर्ष मैदान बाहिर रहेकी थिईन् ।
घुँडाको शल्यक्रिया र केहि समयको रिहाबपछि उनी कोर्ट फर्कन सफल भएकी हुन् ।
‘सबैजनाले डर लाग्यो होला भन्नुभएको थियो तर मलाई त्यस्तो भएन । यसै कोर्टमा म घाइते भएको हो, यसै कोर्टमा हामीले भारतलाई कडा चुनौती दिएको हो र यसै कोर्टमा श्रीलङ्कालाई जितेर ऐतिहासिक जित हासिल गरेको हो त्यसैले यसै कोर्टमा म घाइते भएको भनेर खेलिन,’ प्रतिभाले भनिन् ।
चोटपछि प्रतिभाले पोखरामा भएको एपीएफसँगको मैत्रीपूर्ण खेलबाट कमब्याक गरेकी थिईन् ।
पिपुल्स च्वाईस अर्वाडको मनोनयमा परेकी राष्ट्रिय टिमकी कप्तान अरुणा शाही जिताउ अभियानको सिलसिलामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको थियो ।
त्यसपछि उनले टाईगर कपमा सहभागीता जनाएकी थिईन् ।
प्रतिभाले धेरै खेल, प्रतिस्पर्धा र तनाब बढी भएको बेलामा चोटको दुखाई बढी हुने समेत बताईन् ।
‘आराम गर्दा दुख्दैन तर धेरै खेल, प्रतिस्पर्धा र स्ट्रेस बढी हुँदा दुख्छ । गम्भीर चोट हो समय लाग्छ तर चाँडै निको हुन्छ भन्नुभएको छ डाक्टरहरुले,’ प्रतिभाले चोटबारे भनिन्, ‘धेरै वर्ष खेल्न सक्दैनौ तर जति सक्छौ त्यति मेहेनत गर्दा फरक पर्दैन भन्नुभएको छ । मैले हतार गरिन राम्रोसँग फिजियो थेरापी गराए ।’