काठमाडौं । पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेपछि न्यु डाईमण्ड स्पोर्ट्स क्लबका मुख्य प्रशिक्षक कुमार राईले मेहेनतको फल प्राप्त गरेको बताएका छन् ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार टिमलाई च्याम्पियन बनाएपछि प्रशिक्षक राईले मेहेनत र पसिनाको फल पाएको बताए ।
'अहिलेसम्म गरेको पसिनाको फल आज प्राप्त भयो । सजिलै जितिन्छ कि भन्ने आशा थियो, अलि कठिन किसिमको खेल भयो,' राईले भने, 'पहिला खेलाडी निकै नर्भस देखियो त्यसैले पनामिकालाई पठाए किनकी उसँग खेलको अनुभव छ । पनामिका आएपछि वातावरण सहज हुँदै पनि आयो ।'
फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यु डाईमण्ड च्याम्पियन बनेको हो ।
यस्तै राईले टिममा अझै धेरै कमजोरीहरु रहेको तर विभागलाई जित्न पाउँदा स्वर्गमा पुगेको अनुभव भएको बताए ।
'हाम्रो कमजोरी पक्ष भनेको सेटरमा छ । कृपा अधिकारी आर्मीमा गएपछि त्यो खाडल पूरा गर्न हामीलाई धेरै समय लाग्यो । ३-४ जना सेटर तयार गरे । अरुणा शाही हामीसँग हुनाले हामीलाई धेरै सहज भयो । अझै पनि अरुणालाई सिकाउनु पर्ने धेरैछ । हामीले १-२ घन्टा ट्रेनिङ गरेर विभागलाई जित पाउदा त स्वर्गमा पुगे सरह भएको छ,' राईले भने ।
पुलिसका मुख्य प्रशिक्षक रुपेश विष्टले अट्याकर चल्न नसक्दा पराजित भएको बताए । उनले रेफ्रीले केहि गलत निर्णय गरेको कारण पनि पराजित भएको बताए ।
'पहिलो सेट सोचेको जस्तो भयो । दोस्रो र तेस्रोमा हाम्रो बिचको अट्याकर चलेन । चौंथो र पाचौंमा चल्यो तरपनि जित्न सकिएन । आज म निर्णायकमा पनि असन्तुष्ट छु । नभएको नेट टच पनि ९-१० को बेलामा दिनुभयो त्यहाँबाट हामी पछि पर्यौं,' उनले भने, 'आज जजमेन्टमा सन्तुष्ट छैन ।'