काठमाडौं । न्यु डाईमण्ड स्पोर्ट्स क्लबले पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यु डाईमण्ड च्याम्पियन बनेको हो ।
रोमान्चक बनेको खेलको सुरुवाती सेट पुलिसले २५-२२ ले जितेको थियो । त्यसपछिको दुई सेट लगातार न्यु डाईमण्डले २५-११ र २५-१९ ले जित्यो । तर, चौंथो सेट पुलिसले २५-२१ ले जितेपछि खेल पाँचौ सेटमा पुगेको थियो ।
त्यसपछि पाँचौ तथा अन्तिम सेटमा १५-११ को जित निकाल्दै न्यु डाईमण्डले उपाधि आफ्नो बनायो ।
उपाधिसँगै न्यु डाईमण्डले नगद ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले १ लाख ७५ हजारमा चित्त बुझायो ।
पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ । बिहीबार नै भएको हेल्पले फाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जित्ने क्रममा हेल्प नेपालले एपीएफमाथि २५-१४ २५-२० र २५-२२ को सोझो सेटमा जित निकालेको थियो ।
भारतीय खेलाडी सम्मलित हेल्प नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । समग्रमा हेल्प नेपालको यो तेस्रो उपाधि हो ।
उपाधिसँगै हेल्प नेपालले नगद ३ लाख प्राप्त गर्यो । उपविजेता बनेको एपीएफले १ लाख ७५ हजारमा चित्त बुझायो ।
पुरुषतर्फ तेस्रो भएको बुलबुले राराले ७६ हजार र चौंथो बनेको नेपाल पुलिसले ३७ हजार ५ सय प्राप्त गर्यो ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ७ टिमको सहभागिता रहेको थियो ।
महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।