काठमाडौं । हेल्प नेपाल क्लबले पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको फाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३-० को सेटमा पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा हेल्प नेपालले एपीएफमाथि २५-१४ २५-२० र २५-२२ को सोझो सेटमा जित निकाल्यो ।
भारतीय खेलाडी सम्मलित हेल्प नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । समग्रमा हेल्प नेपालको यो तेस्रो उपाधि हो ।
यस जितसँगै हेल्प नेपालले लिगको अन्तिम खेलमा एपीएफसँग व्यहोरेको हारको बदला समेत लिएको छ ।
उपाधिसँगै हेल्प नेपालले नगद ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले १ लाख ५० हजारमा चित्त बुझायो ।
पुरुषतर्फ तेस्रो भएको बुलबुले राराले ७६ हजार र चौंथो बनेको नेपाल पुलिसले ३७ हजार ५ सय प्राप्त गर्यो ।
महिलातर्फको फाइनलमा भने न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ७ टिमको सहभागिता रहेको थियो ।