काठमाडौं । राष्ट्रिय पुरुष भलिबल टिमका सदस्य हरि अधिकारी करिब २ महिना भलिबल कोर्ट बाहिर रहने भएका छन् ।
त्रिभुवन आर्मी क्लबका मिडल ब्लकर रहेका हरि एन्कल इन्जुरीको कारण करिब २ महिना कोर्ट बाहिर रहने भएका हुन् ।
पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत बुधबार भएको अन्तिम लिग खेलको दौरान हरिले चोट बोकेका थिए ।
नेपाल पुलिस क्लबविरुद्धको खेलमा हरिले चोट बोकेका थिए । जुन खेल आर्मीले ३-२ को सेटमा गुमाएको थियो ।
चोट बोकेपछि हरिले नोबेल अस्पतालमा प्रारम्भिक जाँच गराएका थिए । अस्पतालका डाक्टरले उनलाई १ देखि २ महिना आराम गर्न र थेरापी गराउन सुझाब दिएका थिए ।