काठमाडौं । पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आज महिला र पुरुष दुबै तर्फको फाइनल खेल हुनेछ ।
महिलातर्फको फाइनलमा न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । महिलाको फाइनल खेल दिउसो २:३० बजे सुरु हुनेछ ।
दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । न्यु डाईमण्ड लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । पुलिस दोस्रो स्थानमा रहदै उपाधि नजिक पुगेको हो ।
पुरुषतर्फको फाइनलमा हेल्प नेपाल र एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ । पुरुषको फाइनल खेल ११:३० बजे सुरु हुनेछ ।
पुरुषमा हेल्प नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । एपीएफले भने लिगको दोस्रो स्थानमा रहेर हेल्पसँगको भेट पक्का गरेको हो ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउनेछन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउने आयोजकले जनाएको छ ।