काठमाडौं । न्यु डाईमण्ड स्पोर्ट्स क्लब पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बुधबार भएको खेलमा एपीएफ क्लबलाई ३-१ सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
डाईमण्डले एपीएफलाई २५-२१, २६-२४, १४-२५ र २५-२१ को सेटमा हराएको थियो ।
लामो समयपछि ठुला प्रतियोगिताको फाइनलमा प्रवेश गरेपछि डाईमण्डका प्रशिक्षक कुमार राईले खुशी देखिए । उनले खेलाडीहरु हतोत्साहित नभई खेलेको हुनाले सफल भएको बताए ।
‘फाइनल पुग्दा हामीलाई धेरै खुशी लागेको छ । नानीहरु चलेर खेले । हामी अहिले बलियो भएर आएका छौं । हामी राम्रो त गर्न सक्छौ तर कहिलेकाहीं उनीहरु नर्भस भएर खेल्छन् । आर्मीसँग खेल्दा उनीहरु नर्भस भए त्यसकारणले हामीले त्यो हार्न पुग्यौं । ’ उनले भने ।
यस्तै उनले विभागलाई जित्न पाउदा धेरै खुशी लागेको बताए ।
‘हाम्रो क्वीक र ब्लक राम्रो छैन, हामीले अझैपनि स्तरीय खेल पस्किन सकेको छैन । विभागीय टिमहरु राम्रा छन् । पब्लिकबाट हामीपनि आइरहेका छौं । हामीले यो पटक जित्छौं भनेर नै आएका छौं । खेलाडीले नडराईकन राम्रो सँग खेलेको खण्डमा हामीले जित्न सक्छौ,’ उनले थपे, ‘ उनीहरुले सधैं ट्रेनिङ गर्छन्, तर हामीले पढाई सकेर, बचेको समयमा ट्रेनिङ्ग गर्छौ । त्यसकारण यस्तो अवस्थामा विभागीय टिमलाई जित्दा त खुशी लागिहाल्छ । लामो समयपछि विभागीय टिमलाई हराउन पाउदा धेरै खुशी लागेको छ ।’
प्रशिक्षक राईले अरुणालाई उत्कृष्ट सेटर बनाउने लक्ष्य रहेको समेत बताए ।
‘अरुणालाई उत्कृष्ट सेटर बनाउने लक्ष्य छ । त्यसकारण अरुलाई भन्दा उसलाई बढी ध्यान दिएको छु । उसलाई राम्रो सेटर बनाउन सकेको खण्डमा हामीलाई मात्र नभएर नेपाललाई नै धेरै फाइदा हुन्छ ।’ प्रशिक्षक राईले बताए ।
यस्तै डाईमण्डकी कप्तान ललिता नाथले सोचेको भन्दा बढी टिमको उत्कृष्ट प्रर्दशन र टिमको राम्रो समायोजनले जित्न सफल भएको बताईन् ।
‘३–४ वर्षपछि एपीएफलाई जित्दा हामी धेरै खुशी छौ । सोचेकोभन्दा पनि बहिनीहरुलाई धेरै राम्रो खेले । टिम वोर्क हो त्यसैले सबैले राम्रो खेलेको हुनाले जित्न सफल भयौ । एपीएफलाई जित्नभन्दा पनि सबैले आफ्नो उत्कृष्ट दिए त्यसैले धेरै खुशी छु । खेलमा हार जित ,त भइहाल्छ । टिमको अपेक्षा पुरा भयो ।’ कप्तान नाथले खेलपाटीसँग भनिन् ।
यस्तै उनले नयाँ खेलाडीहरुले राम्रो गरिरहेको र आउँदो दिनमा पनि यस्तै राम्रो प्रर्दशनको आशा गरको बताईन् ।