काठमाडौं । नेपाल पुलिस क्लब पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बुधबार महिलातर्फ भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो ।
फाइनल पुग्ने क्रममा पुलिसले आर्मीलाई २६–२४, २५–१७, २८–२६ को सेटमा पराजित गर्यो ।
यस जितपछि पुलिसले ५ खेलमा ११ अंक जोड्यो । र, पुलिसले शीर्ष दुईमा स्थान पक्का गर्दै उपाधि नजिक पुगेको हो ।
लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने समीकरण रहेको छ ।
अब न्यु डाईमण्ड र नेपाल एपीएफ क्लब मध्ये एक टिम फाइनल पुग्नेछ ।
न्यु डाईमण्ड र एपीएफले आजै लिगको अन्तिम खेल खेल्नेछ ।
आर्मीले ५ खेलबाट ८ अंक जोडेको छ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउनेछन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउने आयोजकले जनाएको छ ।