काठमाडौं । हेल्प नेपाल क्लब पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल अपराजित रहदै फाइनल पुगेको हो ।
भारतीय खेलाडी आबद्द हेल्प नेपालले आर्मीमाथि २५-१७,२५-१९ र २५-१६ को सेटमा जित निकालेको हो ।
जितसँगै हेल्प नेपालले ५ खेलमा १५ अंक जोडेको छ । र, हेल्प नेपाल अन्तिम लिग खेल बाँकी रहदै शीर्ष दुई स्थानमा रहेर फाइनल पुगेको हो ।
हेल्प नेपाल दोस्रो स्थानको एपीएफ भन्दा ५ अंकले अघि रहेको छ । अन्तिम खेलमा हेल्पले एपीएफसँगै खेल्नेछ ।
मंगलबार भएको खेलमा एपीएफ नेपाल पुलिससँग ३-२ को सेटमा पराजित भएको थियो ।
हेल्पसँग पराजित आर्मीको पनि फाइनल खेल्ने सम्भावना रहेको छ ।
तेस्रो स्थानमा रहेको आर्मीको ९ अंक रहेको छ ।
अर्को खेलमा बुलबुले रारा क्लबले मणिमुकुन्द क्लबलाई २५-२१,२५-१९ र २५-१६ ले हराएको छ ।
बुलबुलेले ५ खेलमा ९ अंक जोडेको छ । मणिमुकुन्दको ६ खेलमा २ अंक रहेको छ ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने समीकरण रहेको छ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउनेछन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् ।
उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउने आयोजकले जनाएको छ ।