काठमाडौं । पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विभागीय टिम नेपाल पुलिस क्लबले अर्को विभागीय टिम एपीएफ क्लबमाथि रोमान्चक जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा मंगलबार भएको विभागीय डर्बीमा पुलिसले एपीएफलाई ३-२ को सेटमा हराएको हो ।
पाँच सेटमा पुगेको खेलमा सुरुवाती दुई सेट पुलिसले २५-२१ र २५-२३ ले जितेको थियो । त्यसपछिको दुई सेटमा एपीएफले २५-२० र २५-१७ ले आफ्नो बनायो । अन्तिम सेट १५-१३ ले जित्दै पुलिसले खेल आफ्नो बनायो ।
यस जितसँगै पुलिसले ५ खेलमा ८ अंक जोडेको छ । पुलिस तालिकाको चौंथो स्थानमा रहेको छ ।
एपीएफले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । एपीएफ ५ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
लिगमा हेल्प नेपाल ४ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउनेछन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् ।
उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउने आयोजकले जनाएको छ ।