काठमाडौं । न्यु डाइमण्ड स्पोर्ट्स क्लबले आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा मंगलबार नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डाइमण्डले तेस्रो जित निकालेको हो ।
न्यु डाइमण्डले पुलिसमाथि २५-२२,२५-२२ र २५-१६ को सेटमा जित निकाल्यो ।
यस जितसँगै न्यु डाइमण्डले ४ खेलमा १० अंक जोडेको छ । न्यु डाइमण्ड शीर्ष स्थानमा समेत उक्लिएको छ ।
जितपछि न्यु डाइमण्डका प्रशिक्षक कुमार राईले खेलाडीले उच्च मनोबल लिएर खेल्दा सहज जित निकाल्न सकेको बताए ।
'आजको खेलमा सबैले नर्भस नभई खेले । त्यसैले पुलिसलाई जित्न सजिलो भयो,' उनले भने, 'अझै सोचेको जस्तो खेल भएको छैन । तर, जे होस् राम्रै खेलेका छन् ।'
एपीएफ क्लबसँग समान १० अंक भएपनि न्यु डाइमण्ड सेट अनुपातमा अघि रहेको छ ।
एपीएफले मंगलबार भएको पहिलो खेलमा भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
एपीएफले भरतपुरमाथि २५-१३, २५-७ र २५-९ को सेटमा हराएको हो ।
पुलिसको ४ खेलमा ८ अंक रहेको छ ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।
लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।