काठमाडौं । विभागीय टिम एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सहज जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा मंगलबार भएको खेलमा एपीएफले भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
एपीएफले भरतपुरमाथि २५-१३, २५-७ र २५-९ को सेटमा हराएको हो ।
एपीएफको यो तेस्रो जित हो । जितसँगै एपीएफ शीर्ष स्थानमा उक्लिएको छ ।
एपीएफले ४ खेलमा १० अंक जोडेको छ । भरतपुरको ३ अंक रहेको छ ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।
लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।