काठमाडौं । विभागीय टिम एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा सोमबार भएको विभागीय डर्बी भिडन्तमा एपीएफले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो ।
आर्मीविरुद्ध सुरुवाती एक सेट गुमाएपनि एपीएफले उत्कृष्ट जित निकालेको हो । एपीएफले पहिलो सेट २५-१९ ले गुमाएको थियो ।
तर, एपीएफले त्यसपछि सेट २५-१०, २५-१७ र २५-२२ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
जितसँगै एपीएफले ३ खेलमा ७ अंक जोडेको छ ।
आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ८ अंक जोडेको छ ।
प्रतियोगिता अन्तर्गत नै सोमबार भएको पहिलो खेलमा भरतपुर मेट्रो खेलकुद परिषदले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गर्दै पहिलो जित निकालेको थियो ।
पहिलो जित निकाल्ने क्रममा भरतपुरले ढोरपाटनमाथि २५-२१ , २५-१२ र २५-१३ को सेटमा हरायो ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।
लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।