काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आइतबार भएको खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सेटमा हराउँदै आर्मीले दोस्रो जित निकालेको हो ।
आर्मीले नयाँ बजारमाथि २५-१०,२५-१४ र २५-१४ को सेटमा जित निकालेको हो ।
जितसँगै आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । नयाँ बजारले अंक जोड्न सकेको छैन ।
आइतबार नै हेल्प नेपालले लगातार तेस्रो जित निकाल्न सफल भयो ।
हेल्पले बुलबुले रारा क्लबलाई ३-१ को सेटमा हराएर तेस्रो जित निकालेको छ ।
हेल्पले बुलबुलेलाई २१-२५, २५-१८, २६-२४ र २५-२१ ले पराजित गरेको हो ।
जितसँगै हेल्प नेपालले ३ खेलमा ९ अंक जोडेको छ ।
अर्को खेलमा नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सेटमा पराजित गर्यो ।
उपाधि दाबेदार पुलिसले मणिमुकुन्दमाथि २५-१८, २५-१९ र २५-११ को सेटमा जित निकालेको हो ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।
महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।