काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आइतबार भएको खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सेटमा पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो ।
उपाधि दाबेदार पुलिसले मणिमुकुन्दमाथि २५-१८, २५-१९ र २५-११ को सेटमा जित निकाल्यो ।
जितसँगै पुलिसले ३ खेलमा ६ अंक जोडेको छ । पुलिस लिगको तेस्रो स्थानमा रहेको छ ।
मणिमुकुन्दको यो लगातार तेस्रो हार हो । मणिमुकुन्द पुछारमा रहेको छ ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।
महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।