काठमाडौं । त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार तेस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आइतबार भएको खेलमा भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सेटमा पराजित गर्दै आर्मीले अपराजित यात्रा कायम राखेको हो ।
तुलनात्मक कमजोर टिम भरतपुरविरुद्ध आर्मीले २५-९, २५-८ र २५-१३ को सेटमा जित निकाल्यो ।
यस जितसँगै आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । आर्मीले ३ खेलमा ८ अंक जोडेको छ ।
भरतपुरको यो लगातार तेस्रो हार हो ।
आइतबार नै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गरेको थियो ।
ढोरपाटनविरुद्ध पुलिसले २५-५, २५-९ र २५-५ को सेटमा जित निकालेको थियो ।
पुलिसले पनि ३ खेलमा ८ अंक जोडेको छ । पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।
लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।