काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पहिलो हार व्यहोरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा शनिबार भएको खेलमा बुलबुले रारा क्लबसँग ३-० को सेटमा पराजित हुँदै पुलिसले पहिलो हार व्यहोरेको हो ।
पाकिस्तानी खेलाडीसहित कोर्ट उत्रिएको बुलबुले पुलिसमाथि २५-२२, २५-१९ र २६-२४ को सेटमा जित निकाल्यो ।
बुलबुलेको यो दोस्रो जित हो । बुलबुलेले ३ खेलमा ६ अंक जोडेको छ ।
पुलिसले २ खेलमा ३ अंक जोडेको छ ।
पुरुषतर्फ यस अघिको खेलमा एपीएफ र हेल्प नेपाल स्पोर्ट्स क्लबले जित निकालेको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।
महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।