काठमाडौं । समिर खड्गी र दीपिका तामाङले प्रथम माचुसिमा कप राष्ट्रिय जुनियर क्योकुसिन कराते प्रतियोगिताको खुलातर्फ शनिबार स्वर्ण जितेका छन् ।
कीर्तिपुरस्थित पुष्पसदन सेकेन्डरी स्कुलमा भएको प्रतियोगिताको पुरुष खुला तौलसमूह फाइनलमा समिरले प्रकाश कुँवरलाई पराजित गरे । महिला खुला उपाधि भिडन्तमा दीपिकाले मनीषा तामाङलाई हराइन् ।
नेपाल माचुसिमा क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा विराज सुनुवार पहिलो भए । उनले फाइनलमा विजेन बुढा मगरको चुनौती समाप्त पारे । पुरुष ३५ केजीमा कस्मिर दाहा मगर तथा ५० केजीमा अमन अर्यालले स्वर्ण जिते । फाइनलमा कस्मिरले राम ठाकुर तथा अमनले ईश्वर ओलीलाई पाखा लगाए ।
विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले उद्घाटन गरेका थिए । समापनका अवसरमा आयोजक संघका सल्लाहकारद्वय प्रकाशसिंह कार्की र महेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।
प्रतियोगिता पुरुषतर्फ ४ र महिलामा १ गरी ५ स्पर्धामा ५३ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष राजकुमार गुरुङले जनाएका छन् ।