काठमाडौं । विभागीय टिम नेपाल एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा शनिबार भएको खेलमा नयाँ बजार सामाजिक क्लबलाई ३-० को सेटमा हराउँदै एपीएफले लगातार तेस्रो जित निकालेको हो ।
अपराजित रहने क्रममा एपीएफले नयाँ बजारमाथि २५-१२,२५-१६ र २५-१६ को सेटमा जित निकाल्यो ।
जितसँगै एपीएफले ३ खेलमा ९ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।
शनिबार भएको खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले मणिमुकुन्द क्लबलाई ३-० को सेटमा हराएको छ ।
हेल्प नेपालले मणिमुकुन्दमाथि २५-१५,२५-१६ र २९-२७ ले हराएको हो । जितसँगै हेल्प नेपालले २ खेलमा ६ अंक जोडेको छ । हेल्प नेपाल दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।
महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।