काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पहिलो हार व्यहोरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा शुक्रबार भएको खेलमा बुलबुले रारा क्लबसँग ३-१ को सेटमा पराजित हुँदै आर्मीले पहिलो हार व्यहोरेको हो ।
रोमान्चक बनेको खेलमा पहिलो सेट २५-२० ले आफ्नो बनाएपनि त्यसपछिको सेट आर्मीले लगातार गुमाएको थियो । बुलबुलेले आर्मीमाथि दोस्रो सेट २५-२१, तेस्रो सेट २५-१९ र चौंथो सेट २५-२३ ले जितेको थियो ।
जितसँगै बुलबुलेले २ खेलमा ३ अंक जोडेको छ । पाकिस्तानी खेलाडी आबद्द बुलबुले पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो ।
आर्मीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई हराएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।
महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।