काठमाडौं । विभागीय टिम नेपाल एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा शुक्रबार भएको खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सेटमा हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले मणिमुकुन्दमाथि २५-२२,२५-२० र २५-१९ को सेटमा जित निकाल्यो ।
जितसँगै एपीएफले २ खेलमा ६ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा एपीएफले बुलबुले रारा क्लबलाई ३-१ को सेटमा हराएको थियो ।
शुक्रबार नै भएको अर्को खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-१ को सेटमा हराएको छ ।
हेल्प नेपालले नयाँ बजारमाथि २५-१४,२३-२५, २५-२२ र २५-१६ ले हराएको हो । जितसँगै हेल्प नेपालले १ खेलमा ३ अंक जोडेको छ ।
नयाँ बजारको लगातार दोस्रो हार हो ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।
महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।