काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा शुक्रबार भएको खेलमा भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३-० को सेटमा पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो ।
पुलिसले भरतपुरमाथि २५-४, २५-८ र २५-१२ को सेटमा जित निकाल्यो । जितसँगै पुलिसले महत्वपूर्ण ३ अंक जोडेको छ ।
जितपछि पुलिसका मुख्य प्रशिक्षक रुपेश विष्टले पहिलो खेलमा नयाँ खेलाडीलाई प्राथमिकता दिएपनि नतिजा सहज आएको बताए ।
'आजको खेल नयाँ खेलाडीलाई खेल्ने र अनुभव गर्ने मौका भयो । यसलाई अवसरको रुपमा बुझेको छु । टिमको हिसाबमा उनीहरु र हाम्रो टिममा फरक छ,'विष्टले भने, 'हामीलाई आजको भन्दा भोलिको खेलले कस्तो टिम छ भन्ने हुन्छ । आज ठिकै भयो । हामीले कमजोर र गल्ति सुधार्ने मौका पायौं ।'
यस्तै विष्टले टिमको मुख्य लक्ष्य उपाधि जित्ने भएको बताए ।
'छोटो तयारी भएपनि कमजोरी कम गर्ने कोसिस गर्छौं । जित्ने भनेर खेल्ने हो खेल । खेलाडीको प्रदर्शन खस्किएन भने जित्छौं,' उनले भने ।
भरतपुरका प्रशिक्षक अर्जुन घिमिरेले आफ्नो टिम विद्यालय स्तरको टिम भएको कारण विभागीय टिमसँग उच्च प्रदर्शन गर्न नसकेको बताए ।
'हाम्रो स्कुलको टिम हो । हाम्रो लेभलको टुर्नामेन्ट हुनु पर्ने त्यो भएको छैन । हामीले खेल्न पाएका छैनौँ,' उनले भने, 'विभागीय टिमसँग खेल्न परेको छ । अनुभव कम छ । नतिजाबाट हामी सन्तुष्ट छौँ ।'
यस अघि महिलातर्फ नै एपीएफ क्लबले जित निकालेको थियो । एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
ढोरपाटनविरुद्ध एपीएफले २५-३, २५-९ र २५-५ को सेटमा जित निकाल्यो । ढोरपाटनविरुद्ध एकतर्फी जित निकालेसँगै एपीएफले महत्वपूर्ण ३ अंक जोडेको छ ।
ढोरपाटनको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ढोरपाटन न्यु डाइमण्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् ।
यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द छन् ।
लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।