काठमाडौं । 'ए' डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिताका लागि तय भएको प्रदेश-२ को छनौट खेलहरु स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हेटौडामा गर्ने भनिएको छनौट स्थगित भएको जनाएको छ ।
एन्फाले प्राविधिक कारण छनौट खेल स्थगित गरिएको जनाएको छ ।
प्रदेश-२ को छनौट चैत ८ देखि १२ सम्म हुने जनाएको थियो ।
एन्फाले प्रदेश-१ को छनोट भने गरिसकेको छ ।
एन्फा फुटसल कमिटिले आयोजना गर्ने लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा बागमती प्रदेशबाट ४ टिम तथा प्रदेश-१ र गण्डकी प्रदेशबाट २/२ टिम सहभागी हुने छन् । त्यस्तै प्रदेश-२ बाट एक टिम र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त एक टिम हुनेछ ।
फुटसलको 'ए' डिभिजन लिग जेठ १ देखि २२ सम्म पोखराको बहूदेशीय कभर्डहलमा संचालन हुनेछ ।
लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने छन् ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् ।
एन्फाले सहभागी हरेक टिमलाई १ लाख उपलब्ध गराउने छन् ।
प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन हुनेछ ।