काठमाडौं । नेपाल बास्केटबल लिग (एनबीएल) ले अष्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटीलाई युनिभर्सिटी साझेदारीको रुपमा भित्र्याएको छ ।
एनबीएलले आइतबार साउदर्न क्रस युनिभर्सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
एनबीएलका प्रमुख कार्यकारी अधिकृत नमित बहादुर थापा र साउदर्न क्रस युनिभर्सिटीकी कन्ट्री म्यानेजर सुभी प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता रकम भने खुलाइएको छैन ।
तेस्रो संस्करणको नेपाल बास्केटबल लिग २०७८ साल जेठ महिनाको अन्तिम साताको लागि तय गरिएको छ । एकै समयमा दोस्रो संस्करणको महिला बास्केटबल लिग पनि सञ्चालन हुनेछ । गत वर्ष कोरोना महामारीको कारण लिग आयोजना भएको थिएन् ।
सम्झौता अुनसार करिब दुई महिना चल्ने एनबीएलमा साउदर्न क्रस युनिभर्सिटीसँगै कलेजको लक्ष्यहरुको पनि प्रवर्धन गरिने थापाले बताए ।
एनबीएलको साझेदार बन्दै साउदर्न क्रसले आफ्नो लक्ष्यको दायरालाई फराकिलो बनाउने कोशिष गरेको प्रधानले बताइन् ।
एनबीएल नेपालको एक मात्र होम एण्ड अवे खेलकुद प्रतियोगिता हो । पहिलो संस्करण गोल्डेन गेट इन्टरनेशनल क्लबले जितेको थियो भने दोस्रो संस्करणमा टाइम्स इन्टरनेशनल क्लबले बाजी मारेको थियो । यस्तै महिलाको पहिलो संस्करण नेपाल पुलिस क्लबले जितेको थियो ।