काठमाडौं । फुटसल फाइभ धरान र राइजिङ एफसी पोखरामा आयोजना हुने 'ए' डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिताका लागि छनोट भएका छन् ।
इटहरीमा आयोजना भएको प्रदेश-१ को छनोटबाट फुटसल फाइभ र राइजिङ छनोट भएका हुन् ।
पाथिभारा फुटसल इटहरीमा मंगलबार फुटसल फाइभ च्याम्पियन र राइजिङ उपविजेता बन्दै लिगका लागि छनोट भएका हुन् ।
फाइनल खेलमा फुटसल फाइभले राइजिङलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको थियो । निर्धारित समयको खेल ४-४ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
लिगमा छनोट भएसँगै दुबै टिमले तयारी खर्च स्वरुप समान १/१ लाख पाएका छन् ।
विजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा फुटसल कमिटिका संयोजक रत्न कुमार श्रेष्ठ, हेड अफ फुटसल विनोद गुरुङलगायतले पुरस्कृत गरे ।
प्रदेश १ को छनोटमा ८ टिमको सहभागिता रहेको थियो ।
फुटसलको 'ए' डिभिजन लिग जेठ १ देखि २२ सम्म पोखराको बहूदेशीय कभर्डहलमा संचालन हुनेछ ।
लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने छन् ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् ।