काठमाडौं । कुनै समय नेपालमा लोकप्रिय रहेको बास्केटबल पछिल्लो समय लोपोन्मुख जस्तै भएको छ ।
केहि कलेज र विद्यालय स्तरीय प्रतियोगिता बाहेक बास्केटबलको स्तरीय प्रतियोगिता नभएको धेरै भईसक्यो ।
नेपालमा आयोजना भएको १३ औं साग खेलकुदपछि राष्ट्रिय टिमले कुनैपनि प्रतियोगिता खेलको छैन ।
पछिल्लो एक वर्ष कोरोना भाईरसको महामारीको कारण बास्केटबल ठप्प नै रह्यो ।
तर, कोरोना महामारी कम हुँदै गएपछि फुटबल, क्रिकेट, भलिबल, टेनिस तथा अन्य खेलहरुको प्रतियोगिताहरु धमाधम आयोजना भईरहेको छ ।
अन्य खेलकुदको गतिविधि संचालन भईरहदा बास्केटबल भने अझै ठप्प रहेको छ ।
नेपाल बास्केटबल संघले कुनैपनि कार्यक्रम अघि बढाउन सकेको छैन ।
बास्केटबलको प्रतियोगिता ठप्प रहदा खेलाडीहरु चिन्तित देखिन थालेका छन् ।
नेपाली राष्ट्रिय महिला बास्केबल टिमकी कप्तान सदिना श्रेष्ठ बास्केटबलको प्रतियोगिता नहुँदा आफुहरु चिन्तित भएको बताउछिन् ।
‘महिला फुटबल लिग भर्खरै सक्कियो, भलिबलको पनि त्यत्तिकै खेल भईरहेको छ अरु पनि थुप्रै खेल भइरहेको छ । हाम्रो सागपछि प्रतियोगिता नै भएको छैन । खेल्न पाएका नै छैनौ । अलिकति चित्त बुझेन ।’ उनले खेलपाटीसँग भनिन् ।
उनले सबै खेलको प्रतियोगिता हुँदा बास्केटबलको प्रतियोगिता नहुँदा खेलाडीहरुलाई फ्रस्टेसन भएको बताईन् ।
‘आफुले खेल्न नपाउदा रिस त पक्कै पनि उठिहाल्छ नि रिस भन्दा जहिल्यै ट्रेनिङमै मात्र सीमित भयो खेलहरु भएन । सबैको खेलहरु भइरहेको छ । हाम्रो मात्र नहुँदा म मात्र हैन अरु खेलाडीहरु पनि त्यस्तै फ्रस्टेसनमा छन्,’ उनले थपिन्, ‘प्रतियोगिताकोलागि चै कति कुर्नु, सबै खेलहरु कोरोनापछि सुरु भएर नि सक्किसक्यो । हाम्रो भएको छैन त्यसैले मलाई राम्रो लागेन, जतिपनि प्रतियोगिताहरु हुनुपर्ने हो त्यो भइरहेको छैन, संघले गराउने नगराउने मलाई केही थाहा छैन । उहाँहरुले के सोचिराख्नु भएको छ थाहा छैन ।’
बास्केटबलका प्रशिक्षक विकास शाहीले संघले प्रतियोगिता गर्ने तयारीमा रहेको तर पहिला कुन प्रतियोगिता गर्ने भन्ने बारे संघ अन्यौलमा रहेको बताए ।
‘संघको बैठक भएको थियो । इभेन्ट गर्ने तयारी छ, तर कुनलाई पहिला प्राथमिकता दिएर गर्ने भन्ने छ । यु –१८ गर्ने कि खुल्ला गर्ने भन्ने कुरा भएको छ ।’ उनले भने ।
बिना प्रतियोगिता ट्रेनिङ मात्र गराउँदा खेलाडी मात्र नभएर प्रशिक्षक पनि फ्रस्टेसनमा भएको बताए ।
‘ट्रेनिङ गराइरहेको हुन्छौ । एउटा प्रतियोगिता नै नभइकन ट्रेनिङ मात्रले हुँदैन । खेलाडीलाई अल टाइम फिट गराउनकालागि टुर्नामेन्टहरु त चाहियो । खेलाडीमा त्यहीं खालको फ्रस्टेसन छ, हामी प्रशिक्षकलाई पनि त्यस्तै छ,’ उनले भने ‘खेलाडीहरुलाई खेलाइ राख्न पाए पो उनीहरुको फिटनेस, नयाँ कुराहरु सिक्न पाउछ । अझ हामीले त्यो भन्दा एक स्टेपमाथिको कुरा एक्पेक्ट गरिरहेका हुन्छौ ।’