काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस अवार्डको तयारी पूरा भएको छ ।
आयोजक खेलाडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्डको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
एनएनआईपीए स्पोर्टस अवार्ड फागुन ८ गते शनिबार मध्यपुर ठिमी नगरपालिकाको निगु पुखुमा हुनेछ ।
अवार्ड कार्यक्रममा २६ खेलका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी, उत्कृष्ट पारा खेलाडी, आदर्श खेलाडी अवार्ड र खेल पत्रकारिता अवार्ड प्रदान गरिनेछ ।
यस्तै उत्कृष्ट खेलाडीहरुबाट छनोट गरेर एक महिला र पुरुषलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिने छ ।
सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १/१ लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट खेलाडीले जनही १०/१० हजार पाउने छन् ।
प्रतिभावान महिला र पुरुष खेलाडीले ५०/५० हजार रुपैयाँ पाउने छन् ।
संघले यसपटक राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको जानकारी दिएको छ ।
यस विधाका विजेता महिला र पुरुष खेलाडीले जनही ५०/५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
यस पटकको अवार्डमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलका खेलाडीलाई समावेश गरिएको आयोजकले जनाएको छ ।
संघको सिफारिस उत्कृष्ट घोषित हुने खेलाडी बाहेक अन्य विधाको विजेताका छनोट दीपक विष्ट संयोजकत्वको छनोट समितिले चयन गर्ने आयोजकले जनाएको छ ।