काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जितेको ५१ स्वर्ण पदकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तीन वर्षे उपलब्धिमा राखेका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार तीन वर्षे कार्यकालको उपलब्धीमा १३ औं सागको स्वर्णलाई प्रमुख उपलब्धिमा समावेश गरेका हुन् ।
प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको पुनर्निर्माण र पोखरामा निर्माण भएको नयाँ रंगशालालाई पनि उपलब्धिको रुपमा समावेश गरेका छन् ।
‘भूकम्पपछि क्षतिग्रस्त दशरथ रंगशालाको पुनर्निर्माण यसै अवधिमा सम्पन्न भएको छ। पोखरामा नयाँ रंगशाला निर्माण गरिएको छ। १३औँ दक्षिण एसियाली खेलकुदको सफल आयोजना मात्रै भएन, ५१ स्वर्णसहित २०७ पदक हासिल गरी नेपालले आफूलाई दक्षिण एसियामा भारतपछि दोस्रो स्थानमा उभ्याउन सफल भएको छ,’ प्रधानमन्त्रीले सार्वजनिक गरेको उपलब्धिमा भनिएको छ ।
२०७६ सालको मंसिरमा आयोजना भएको सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो ।
साग सकिए लगत्तै प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडीलाई नगद पुरस्कारबाट समेत पुरस्कृत गरिसकेको छ ।