काठमाडौं । फुटसलको 'ए' डिभिजन लिग पोखरामा आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार फुटसलको 'ए' डिभिजन लिग पोखरामा हुने जनाएको छ ।
फुटसलको 'ए' डिभिजन लिग बैशाख २५ देखि जेठ १५ सम्म संचालन हुनेछ ।
एन्फा फुटसल कमिटिले आयोजना गर्ने लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा बागमती प्रदेशबाट ४ टिम तथा प्रदेश-१ र गण्डकी प्रदेशबाट २/२ टिम सहभागी हुने छन् । त्यस्तै प्रदेश-२ बाट एक टिम र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त एक टिम हुनेछ ।
लिगका लागि प्रदेश-१ को छनोट खेलहरु चैत१ देखि ५ सम्म इटहरीमा हुनेछ । प्रदेश-२ को छनोट हेटौडामा चैत ८ देखि १२ सम्म संचालन हुनेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनोट दाङमा चैत १९ देखि २३ सम्म हुनेछ ।
बागमतीको छनोट खेलहरु काठमाडौंमा चैत २५ देखि ३० सम्म हुनेछ ।
गण्डकीको छनोट खेलहरु पोखरामा बैशाख ३ देखि ७ सम्म संचालन हुनेछ ।
लिगमा 'ए', 'बी' र 'सी' डिभिजन क्लब, जिल्ला संघमा आबद्द क्लब तथा राष्ट्रिय खेलकुद परिषदमा आबद्द क्लबहरुले सहभागिता जनाउन पाउने छन्।
लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने छन् ।
यस्तै सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् ।
एन्फाले सहभागी हरेक टिमलाई १ लाख उपलब्ध गराउने छन् ।