काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाकाे सहयाेगमा बागमती प्रदेश स्तरीय बक्सिङ्ग प्रतियोगिता आयोजना हुने भएको छ ।
नागार्जुन नगरपालिकाको सहयोगमा नागार्जुन बक्सिङ्ग खेलकुद समितिले फागुन १९ देखि २२ गतेसम्म पहिलो बागमती प्रदेश स्तरीय बक्सिङ्ग प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी दिईएको हो ।
वीर गणेशमान सिंहको स्मृतिमा आयोजना हुन लागेको प्रतियोगिता काठमाडौंको स्युचाटारमा हुनेछ ।
प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै, पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका खेलाडी सहभागी हुनेछन् ।
पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक मोहनबहादुर बस्नेतले हरेक तौल समूहका विजेताले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि नागार्जुन नगरपालिकाले २० लाख रुपैयाँ बजेट उपलब्ध गराउने र चार दिने प्रतियोगितामा करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि नगर प्रमुख मोहनबहादुर बस्नेतको संंयोजकत्वमा १ सय १ सदस्यीय समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।