काठमाडौं । आयोजक सूर्योदय ‘बी’ र डाफोडिल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेताका हैसियतले प्रिक्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
घट्टेकुलोस्थित घरेलु कोर्टमा सूर्योदय ‘बी’ ले विल्सन एकेडेमीलाई ८–६ ले पराजित गर्यो । डाफोडिलले सूर्योदय ‘बी’ लाई १२–७ तथा विल्सनलाई १६–१० ले हरायो । ब्वाइजमै मिलनको ‘ए’, ‘बी’ र ‘डि’, टिम चन्दन, एटम, भीएस कलेज ‘ए’, रोशन, मनासलु, क्याम्पियन, विनय पुरी, ग्रामर, टीआईए, टिम रावत र ओमेगा प्रिक्वाटरफाइनलमा पुगेका छन् ।
गर्ल्समा भीएस कलेज ‘बी’ ले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । गर्ल्समै सूर्योदय, साइपाल, लिम्पिया, भीएस कलेज ‘ए’, बुद्ध प्रकाश र हिमालयले क्वाटरफाइनलमा स्थान बनाए ।
प्रतियोगिताको सूर्योदय फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी र प्रबन्ध निर्देशक सुशिल थापाले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे ।
प्रतियोगिताको ब्वाइजमा ३२ र गर्ल्समा १६ गरी जम्मा ४८ टिम सहभागी छन् ।
ब्वाइजमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गर्ल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार जित्ने छन् ।
ब्वाइज÷ गर्ल्स दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही २ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।