सिन्धुपाल्चोक । युवा खेलाडी प्रिन्स दाहालले नेपाल नम्बर एक रत्नजित तामाङविरुद्ध ऐतिहासिक जित हासिल गरेका छन् ।
बिहीबार तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ को राष्ट्रिय पुरुष एकलतर्फको सेमिफाइलनमा रत्नजितविरुद्ध प्रिन्सले करियरकै पहिलो जित निकालेका हुन् ।
जिल्ला सदरमुकामको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा रत्नजितविरुद्ध हाबी भएका प्रिन्सले सोझो सेटमै फाइनल यात्रा तय गरे । सिनियर बरियतामा ९ औ स्थानमा रहेका प्रिन्सले २१–१९, २१–१६ ले खेल आफ्नो पक्षमा पारे ।
यो जितसँगै प्रिन्सले पहिलो पटक रत्नजितविरुद्ध जित निकाले । यसअघि रत्नजितविरुद्ध टिम इभेन्ट्समा सफल भएपनि प्रिन्सले सिंगलतर्फ जित निकाल्न सकिरहेका थिएनन् ।
उपाधिका लागि प्रिन्सले आर्मीका नविन श्रेष्ठको सामना गर्नेछन् ।
आजनै भएको दोस्रो सेमिफाइनलमा नविनले आर्मीकै रुकेश महर्जनलाई २१–१७, २१–१० को सोझो सेटमा पराजित गरे ।
फाइनल खेल भोली (शुक्रबार) हुनेछ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा चलिरहेको प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधामा प्रतिस्पर्धा गराईएको छ ।
पहिलो चरणमाको जिल्ला पुरुष एकलको उपाधि त्रिपुरा सुन्दरी गाउँपालिकाका अभिषेक गुरुङले पोल्टामा पारेका छन् । यस्तै युगल जोडी तर्फ प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ तथा अभिषेक गुरुङ र युवराज अधिकारीको जोडी २६ गते उपाधिका लागि भिड्नेछन् ।
राष्ट्रिय स्तरको पुरुष एकल तर्फको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्तै सेमिफाईनलिस्ट (तृतीय स्थान) दुई जनाले जनही १० हजार प्राप्त गर्ने छन् ।
युगलतर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाईनलिस्ट दुई जोडीले ५–५ हजार प्राप्त गर्नेछन् ।
यस्तै सिंगल जिल्ला विजेताले ३० हजार प्राप्त गर्दा उपविजेताले २० हजार प्राप्त गर्नेछ । यस्तै सेमिफाइनल पुग्न सफल दुई खेलाडीले जनही ५ हजार प्राप्त गर्नेछन् ।