काठमाडौं । पाचौं दक्षिण एसियाली महिला साफ च्याम्पियनसिप आयोजना भएको विराट रंगशालामा ‘फ्लड लाईट’ जडान कार्य सुरु भएको छ ।
प्रदेश सरकारको सहयोगमा बिहीबारबाट मैदानमा फ्लड लाईट राख्ने काम सुरु भएको हो ।
पहिलो दिन मैदानमा दुई पोल गाढिएको छ भने दोस्रो दिन (शुक्रबार) दुई पोल गाढिने प्रदेश एक एन्फा प्रतिनिधि तथा एन्फा सह महासचिव बसन्त अर्यालले खेलपाटीलाई बताए । उनका अनुसार मैदानमा ४ पोल गाढिने छन् ।
‘आज दुई पोल ठढाउने काम भयो । भोली बाकी काम हुन्छ, विराट गोल्डकप आयोजक समितिका कार्यकारी सदस्य अर्याले भने ।
पहिलो दिन मैदानको पश्चिम र उत्तर दक्षिण भागको कुनामा पोल राख्ने काम भएको छ ।
प्रदेश नम्बर एक सरकारले मैदानको चारै तिर फ्लड लाईट जडान गर्न ५ करोड विनियोजन गरेको छ । जसमा टेण्टर ४ करोड २९ लाख रहेको छ ।
मैदानको चारै तर्फ पोल गाढिएपछि बत्ति जडान गरिने अर्यालले बताए । अर्यालका अनुसार फ्लड लाइट पूर्ण रुपमा जडान २० दिन भित्र हुनेछ । एक पोलमा हजार वार्डका २७ वटा बत्ति जडान हुनेछन् ।
यस अघि विराटनगर महानगरपालिकाको १ करोड सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले विराट रंगशालामा महिला साफ आयोजना गरेको थियो । साफको उपाधि भने आयोजक नेपाललाई पराजित गर्दै भारतले जितेको थियो ।