एजेन्सी । सातौं पटकको फर्मुला वान च्याम्पियन तथा मर्सिडिज चालक लेविस ह्यामिल्टनलाई कोरोना भाईरसको संक्रमण भएको छ ।
मर्सिडिजले मंगलबार ह्यामिल्टनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
कोरोना भाईरसको सामान्य लक्षण देखिएपछि गरिएको परिक्षणमा ह्यामिल्टनको नतिजा पोजेटिभ आएको हो ।
कोरोना देखिएपछि बेलायती चालक ह्यामिल्टन सेल्फ आईसोलेसनमा बसेका छन् ।
यस्तै उनले बहराइनमा हुने शाखिर ग्राण्ड प्रिक्स समेत गुमाउने भएका छन् ।
ह्यामिल्टनले आइतबार मात्र बहराइन ग्राण्ड प्रिक्सको उपाधि जितेका थिए ।
३५ वर्षीय ह्यामिल्टनले नोभेम्बर १५ मा टर्किस ग्राण्ड प्रिक्सको उपाधि जित्दै सातौं पटक विश्व च्याम्पियन बनेका थिए ।
ह्यामिल्टनले सर्वाधिक धेरै विश्व च्याम्पियनसिपको उपाधि जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी समेत गरेका थिए ।
ह्यामिल्टनले जर्मनीका लिजेण्ड खेलाडी माइकल सुमाकरको नाममा रहेको ७ विश्व च्याम्पियनसिप उपाधिको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
यस्तै ह्यामिल्टनले गत महिना मात्र सर्वाधिक धेरै फर्मुला वानको उपाधि जित्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।
ह्यामिल्टनले माइकलकै नाममा रहेको ९१ उपाधिको कीर्तिमान तोडेका थिए ।