काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को खर्च विवरण आज सार्वजनिक गर्ने भएको छ ।
राखेपले त्रिपुरेश्वरस्थित राखेपको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सागको खर्च विवरण सार्वजनिक गरिने जनाएको छ ।
अपरान्ह १ बजे राखिएको पत्रकार सम्मेलनमा राखेका सदस्य सचिव रमेशकुमार सिलवालले सागको खर्च विवरण सार्वजनिक गर्ने छन् ।
राखेपले साग सकिएको एक वर्षपछि प्रतियोगिताको हिसाब किताब सार्वजनिक गर्न लागेको हो ।
१३ औं साग गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको थियो ।
तर, लामो समयसम्म राखेपले खर्च विवरण सार्वजनिक गर्न सकेको थिएन।
साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।
सागको खर्च विवरण सार्वजनिक नगर्दा सदस्य सचिव सिलवालको सुशासन र पारदर्शीताको नारामाथि प्रश्न उठ्दै आएको थियो ।
साग आयोजना तथा सामान खरिदमा ब्यापक भ्रष्ट्राचार भएको आरोप राखेप समक्ष लाग्दै आएको छ । पछिल्लो समय ब्याडमिन्टनको जुत्ता तथा म्याट खरिदमा भ्रष्ट्राचार भएको निष्कर्श सहितको प्रतिवेदन छानविन समितिले तयार पारेको थियो ।
राखेपले समिति गठन गरेर तयार पारेको छानविन प्रतिवेदन लामो समय बितिसक्दा समेत सार्वजनिक भएको छैन ।