काठमाडौं । राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्याय कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
मंगलबार गरिएको परिक्षण अनुसार उपाध्यायको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
बुधबार प्राप्त जानकारी अनुसार उपाध्याय कोरोना मुक्त भएका हुन् । एन्फाका एक अधिकारीका अनुसार झण्डै एक सातामै उपाध्याय कोरोना मुक्त भए ।
मैत्रीपूर्ण खेलका लागि टिम व्यवस्थापकको रुपमा बंगलादेश पुगेका उपाध्यायलाई फर्कने समय कोरोना संक्रमण देखिएको थियो ।
नेपाली टिम स्वदेश फर्कने क्रममा कोरोना परिक्षण गरिएको थियो । मंसिर ३ गते प्राप्त रिपोर्ट अनुसार उपाध्यायको नतिजा पोजेटिभ आएको थियो ।
संक्रमित भए लगत्तै उनीलाई बंगबन्धु मेडिकल हस्पिटलमा राखिएको थियो । सुरुवाती दिन अस्पतालमा बसेपछि उपाध्याय ५ दिन अघिमात्र होटलमा एकान्तवासमा बस्न सुरु गरेका थिए ।
कोरोना रिपोर्ट नेगेटिभ आएसंगै उपाध्याय स्वदेश फर्कने तयारी गरेका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टिमलाई अन्तराष्ट्रिय फुटबलमा फर्काउने उद्धेश्य अनुरुप कात्तिक २० गते बंगलादेश लगेको थियो ।
नेपालले बंगलादेशमा दुई मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । पहिलो खेलमा २–० ले पराजित नेपाली टिमले दोस्रो खेलमा बराबरीको नतिजा निकालेको थियो ।
उपाध्याय बाहेक नेपाल फर्किएका अधिकांश खेलाडी तथा अफिसियलको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । एन्फाले बुधबार रिपोर्ट नेगेटिभ आएसंगै खेलाडीलाई दुई हप्ताको बिदा दिएको छ ।