काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण अनिश्चित समयलाई स्थगित गरेको छ ।
तत्काल कुनै महत्वपूर्ण प्रतियोगिता नभएको अवस्था र कोरोनाको संक्रमण बढेसंगै क्यानले प्रशिक्षणलाई तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको हो ।
क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको थियो । त्रिवि मैदान कीर्तिपुरमा क्वारेन्टिन बनाउनेदेखि खेलाडीको पीसीआर जाँचसम्मको तयारी क्यानले अघि बढाएको थियो ।
तर कोरोना संक्रमितको संख्या बढ्ने देखिएसंगै क्यानले खेलाडीको प्रशिक्षण तत्काललाई स्थगित गरेको हो ।
‘प्रशिक्षण तत्काललाई स्थगित भएको छ । कहिलेसम्म भन्ने बिषय टुङ्गोपनि छैन ।’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले खेलपाटीसंग भने ।
‘पहिलो कुरा कोरोनाको परिस्थिती र अर्को मुख्य कारण भनेको साढे ५ महिना कुनै अन्तराष्ट्रिय खेल नभएको हुदाँ हतार गरेर गर्नुपर्ने स्थितीपनि छैन ।’ उनले भने ।
सचिव प्याकुरेलले क्रिकेटको प्रशिक्षण सुरु गर्न कम्तिमा डेढ, दुई महिना लाग्ने बताए ।
‘बर्खाको समयपनि छ । कोरोनाले एक परिस्थिती बनाउँछ । त्यसपछि प्रशिक्षणमा फर्कने सोच्न सकिन्छ ।’ उनले भने ।
चैतमा कोरोनाको कहर सुरु भएसंगै घरेलु क्रिकेट ठप्प अवस्थामा छ । चैतमा खेलाडीहरु घरेलु क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल)को तयारीमा रहेका थिए ।
तर कोरोनाले मुलुक लकडाउनमा गएपछि सबै घरेलु प्रतियोगिता सहित अन्तराष्ट्रिय खेल प्रभावित बनेका छन् ।
क्यानले भदौ १ गतेबाट खेलाडीलाई मैदान फर्काउने योजना अनुसार काम अघि समेत बढाएको थियो । तर तत्काल कुनै प्रतियोगिता नभएको अवस्था र कोरोनाको जोखिमलाई देखेर क्यान प्रशिक्षण स्थगित गर्ने अवस्थामा पुगेको हो ।