काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको दर्खास्त आह्वानमा ढिलाई हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को गत सोमबार बसेको कार्यसमिति बैठकले एक हप्ताभित्र मुख्य प्रशिक्षक सहित विभिन्न पदमा खुल्ला प्रतिस्पर्धाका लागि दर्खास्त आह्वान गर्ने निर्णय गरेकाे थियो ।
एक साता बितिसक्दा समेत क्यानले प्रशिक्षक सहितका पदका लागि दर्खास्त आह्वान गर्न सकेको छैन । सोमबार बसेको क्यानको बैठकले मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।
क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)संग समन्व्य गर्ने कामले समय लिएको उल्लेख गर्दै दर्खास्त आह्वान केही ढिला हुने बताएको छ ।
प्रशिक्षक आह्वानको प्रक्रिया अघि बढेपछि कागजी काम बाँकी रहेकाले दर्खास्त आह्वानका लागि केहीसमय लाग्ने क्यानका कोषाध्यक्ष रोशन सिंहले बताए ।
‘प्रशिक्षकको दर्खास्त एक साता भित्र आह्वान गर्ने तयारी थियो । तर कागजी कामले गर्दा अझै केहीदिन लम्बिने देखिएको छ ।’ सिंहले भने, ‘आईसीसीसंगको समन्व्यमा प्रक्रिया अघि बढिसकेको छ ।’
नेपालको राष्ट्रिय क्रिकेट टिम लामो समयदेखि मुख्य प्रशिक्षक विहिन छ । क्यानले झण्डै ६ महिनादेखि मुख्य प्रशिक्षकको खोजी गर्दै आएको छ ।
क्यानले यसअघि भारतीय मुलका प्रशिक्षक लालचन्द राजपुत राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाउने तयारी गरेको थियो । तर अन्तिम समयमा लालचन्दले धोको दिएको भन्दै क्यानले खुल्ला दर्खास्त आह्वान गरेर प्रशिक्षक छनोट गर्ने लागेको हो ।
गत फेब्रुअरीमा भएको विश्व क्रिकेट लिग अन्तर्गतको घरेलु सिरिज लगत्तै नेपाली टिम मुख्य प्रशिक्षक विहिन छ । तत्कालिन प्रशिक्षक उमेस पटवालले समय अवधि नसकिंदै राजीनामा दिदै स्वदेश फर्किएसंगै सो पद रिक्त अवस्थामा छ ।
क्यान निलम्बनमा रहेको बेला राष्ट्रिय खेलकुद परिषद् (राखेपर) र आईसीसीसको सहमतिमा पटवाल एक वर्षको लागि नेपालको प्रशिक्षकमा अनुबन्धित भएका थिए । तर उनले आफ्नो सम्झौताको समय अवधि नसकिदै राजिनामा दिए ।
सम्झौता अवधि सकिन झन्डै ३ महिना बाँकी रहंदा पटवालले तलबको विषयमा असन्तुष्टि देखाउँदै आईसीसीमा राजिनामा बुझाएका थिए ।