काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्समा करातेतर्फ नेपालको चुनौती सकिएको छ । सोमबार फाइटतर्फ नेपालकी अनु अधिकारीको प्रतिस्पर्धा सकिएसंगै नेपालको चुनौती सकिएको हो ।
महिलाको ५९ केजी तौल समूहको कास्य पदकको लागि भएको भिडन्तमा अनु जापानकी खेलाडी मियो मियाहारासंग ९ - ० ले पराजित भईन् ।
त्यसअघि अनुले पहिलो खेलमा मकाउका चेङ छुङलाई ५ - १ ले हराएकी थिइन् । क्वाटरफाइनलमा चाइनिज ताइपेका खेलाडीसंग ७ - २ ले पराजित भएपनि अनुले रिपाचे चरणमा लाओसका खेलाडीलाई ३ - १ ले हराएर कास्य पदकको लागि स्थान पक्का गरेकी थिइन् ।
अनुको चुनौती सकिएसंगै करातेमा पनि नेपाल पदकबिहिन भएको छ ।
यसअघि नेपालका दिवस श्रेष्ठ ८४ केजी तौलमुनि इरानी खेलाडीसंग ८ - ० ले पराजित भएका थिए ।
चारबर्ष अघि इन्जोन एसियन गेम्समा नेपाललाई एक मात्र कास्य दिलाउने कराते यो पटक पदकबिहिन बनेको हो ।
करातेमा नेपालबाट ४ महिला र ४ पुरुषगरी ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।