काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सम्झौतामा रहेका खेलाडीको तलब बढाउन प्रस्ताव गर्ने निर्णय गरेको छ ।
क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)संग खेलाडीले प्राप्त गर्न बाँकी रकममा तलब बृद्धि गर्न माग गर्दै प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।
खेलाडीले पाउदै गरेको तलबमा १० हजार रुपैयाँ वृद्धि गर्न क्यानले प्रस्ताव गरेको छ ।
क्यानसंग सम्झौतामा रहेका खेलाडीले तीन तहमा तलब पाउदै आएका छन् ।
गत शनिबार बसेको क्यानको कार्यसमितिको बैठकले आईसीसीसंग खेलाडीको तलब बृद्धि गर्न प्रस्ताव गर्ने निर्णय गरेकाे हो ।
खेलाडीले लामो समयदेखि पाउदै गरेको तलबमा बृद्धि गर्न आईसीसीसंग प्रस्ताव गरिएको क्यानका कोषाध्यक्ष रोशन सिंहले खेलपाटीलाई जानकारी दिए ।
’सबै खेलाडीको तबलमा १० हजार रुपैयाँ वृद्धि गर्न आईसीसीसंग प्रस्ताव गरेका छौं ।’ कोषाध्यक्ष सिंहले भने, ’शनिबार बसेको बैठक अनुसार तलब बृद्धिको प्रस्ताव गरेको हौ ।’
खेलाडीले ए, बी र सी श्रेणी अनुसार क्रममा ३५ हजार, २५ हजार र १५ हजार पाउदै आएका छन् ।
क्यानको प्रस्ताव आईसीसीले स्वीकार गरेमा ए श्रेणीका खेलाडीले ४५ हजार, बीले ३५ हजार र सी श्रेणीका खेलाडीले २५ हजार रुपैयाँ मासिक रुपमा पाउनेछन् ।
खेलाडीले सन् २०१९ देखिको तलब पाउन बाँकी रहेको छ ।
कोषाध्यक्ष सिंहका अनुसार महिला खेलाडीको केन्द्रिय सम्झौता 'सेन्ट्रल कन्ट्याक' समेत अन्तिम चरणमा पुगेको छ ।
’सबै दस्तावेज तयार छ । अब लक डाउन सकिएसँगै बोर्ड बैठकमा पेस गर्ने हो । छिटपुट मिलाएर खेलाडीसँग सम्झौता गर्नेछौ ।’ उनले थपे ।
महिला खेलाडीले पहिलो पटक क्यानको केन्द्रिय सम्झौता पाउन लागेका हुन् । यसअघि महिला खेलाडीले भत्ता बाहेक अन्य केही सुविधा पाएका थिएनन् ।
लकडाउन लगत्तै प्रशिक्षक
यस्तै, कोरोना भाइरसको कारण लामो समयदेखि क्रिकेट गतिविधि रोकिएको भन्दै क्यानले खेलाडीलाई अभ्यास सुरु गर्न राखेपमा प्रस्ताव गरेको छ । क्यानले सामाजिक दूरी कायम गराउदै खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउन पाउनुपर्ने भन्दै राखेप समक्ष प्रस्ताव राखेको हो ।
‘राखेपले अनुमति दिएको खण्डमा असार १५ पछि राष्ट्रिय टिमको अभ्यास शुरु गर्ने तयारी छ ।’ सिंहले भने, ‘खेलाडीलाई सामाजिक दूरी कायम गराएर आईसीसी र सरकारको निर्देशन अनुसार अभ्यास गराउने याेजना छ ।’
क्यानले लकडाउन खुले लगत्तै राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको छ । हाल नेपालको राष्ट्रिय क्रिकेट टिम मुख्य प्रशिक्षक विहिन रहेको छ ।
कोषाध्यक्ष सिंहका अनुसार भारतीय प्रशिक्षक नेपाल आउने सम्भावना रहेको जानकारी दिदै अष्ट्रेलियाको प्रशिक्षकमा समेत नजर लगाइएको बताए ।
‘लकडाउन खुले लगत्तै प्रशिक्षकको टुंगो लाग्नेछ । अहिले तीन प्रशिक्षक क्यानको नजरमा छन् । भारतका दुई र अष्ट्रेलियाबाट एक प्रशिक्षक हेरिरहेका छौं । सम्भवत भारतबाटै प्रशिक्षक आउनेछन् ।’ उनले भने ।