काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संकरणको एसियन गेम्स अन्तर्गत पौडीमा नेपालकी ओलम्पियन गौरिका सिंह आफ्नो फेबरेट स्पर्धा २ सय मिटर फ्रिस्टाइलमा हिट चरणबाट बाहिरिएकी छिन् ।
जीबीके स्टेडियमको एक्वाटिक सेन्टरमा बुधबार नयाँ राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गरेकी गौरिका कीर्तिमान बनाउन चुकेकी हुन् । २ सय मिटरको हिट चरणमा गौरिकाले २ मिनेट १२.५३ सेकेण्डको समय निकालिन ।
यो स्पर्धामा गौरिकाको नाममै राष्ट्रिय कीर्तिमान रहेको छ । गौरिकाले एसियन गेम्सको छनोटमा २ मिनेट ०९.१९ सेकेण्डको समय निकालेकी थिइन् । यसअघि गौरिकाले आफ्नो मुख्य स्पर्धा २ सय मिटरमा राष्ट्रिय कीर्तिमान बनाउने बताएकी थिइन् ।
यो स्पर्धामा आठ खेलाडी रहेको हिट एकमा गौरिका सातौं स्थानमा रहिन् । गौरिकाले अब ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । सोमबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा पनि गौरिका हिट चरणबाट बाहिरिएकी थिइन् । गौरिकाले हिट चरणमा १ मिनेट ०.८२ सेकेण्डको समय निकालेकी थिइन् ।
पौडीकै पुरुष १ सय मिटर ब्रेष्ट स्टोक्स नेपालका सुभम श्रेष्ठ पनि हिट चरणबाट बाहिरिएका छन् । आफ्नो हिटमा तेस्रो भएका सुभमले १ मिनेट ११.३७ सेकेण्डको समय निकाले ।
एसियन गेम्सको छनोटमा सुभमले यो स्पर्धामा १ मिनेट ०८.९४ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेका थिए ।