काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संकरणको एसियन गेम्स अन्तर्गत पौडीमा नेपालका शिरीष गुरुङ हिट चरणबाट बाहिरिएका छन् ।
ब्राजिलको रियो ओलम्पिक खेलिसकेका पौडीवाच शिरीषले पुरुष ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए ।
जकार्ता एक्वाटिक सेन्टरमा हिट २ मा प्रतिस्पर्धा गरेका शिरीष आफ्नो हिटमा तेस्रो भएपनि दोस्रो चरणमा पुग्न सकेनन् । शिरीषले २६.३३ सेकेन्डमा हिट चरण पूरा गरेका थिए । ५१ प्रतिस्पर्धी रहेको यो स्पर्धामा शिरीष समग्रमा ४६ औं स्थानमा रहे । अब शिरीषले दुई स्पर्धामा खेल्ने छन् ।
यो स्पर्धामा शिरीषको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । शिरीषले तुर्कमेनिस्तानको अस्कावादमा भएको एसियन इन्डोर तथा मार्सल आर्टस गेम्समा २५.४३ सेकेन्डको समय निकालेर कीर्तिमान बनाएका थिए ।
बिहीबार शिरीषले १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसअघि बुधबार गौरिक सिंहले २ सय मिटर फ्रिस्टायल र शुभम् श्रेष्ठले १ सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छन् ।