काठमाडौं । नेपालको ओलम्पियन पौडीवाच गौरिका सिंहले एसियन गेम्समा आफ्नो मुख्य स्पर्धामा राष्ट्रिय किर्तिमान बनाउने लक्ष्य रहेको बताएकी छिन् ।
इन्डोनेसियामा जारी १८ औं एसियन गेम्सको लागि जाकार्तामा रहेकी गौरिकाले आफ्नो मनपर्ने स्पर्धा २ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय किर्तिमान बनाउने बताएकी हुन् ।
जीबीके स्टेडियमको एक्वाटिक सेन्टरमा सोमबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा भने गौरिका हिट चरणबाट बाहिरिएकी थिइन् ।
गौरिकाले हिट चरणमा १ मिनेट ०.८२ सेकेण्डको समय निकालेकी थिइन् । हिट चरणको दोस्रोमा रहेकी गौरिका छैटौं भईन् ।
२७ खेलाडी रहेको यो स्पर्धामा रियो ओलम्पिककी कान्छी खेलाडी गौरिका समग्रमा १८ औं स्थानमा रहिन् । तर, गौरिकाले आफ्नो प्रदर्शनमा खुशी रहेको बताईन् ।
'मेरो आफ्नो विधा भनेको २ सय मिटर हो । अब ५० र २ सय मिटर खेल्न बाँकी छ । दुवै खेलमा राम्रो खेल्ने योजना छ,' गौरिकाले भनिन्, '२ सय मिटरमा नेसनल रेकर्ड तोड्ने मेरो लक्ष्य हुनेछ ।'
गौरिकाले अब ५० मिटर फ्रिस्टाइल र २ सय मिटर फ्रिस्टाइलमा बुधबार खेल्ने छिन् ।
यस्तै १०० मिटर फ्रिस्टाइलमा टिसा शाक्यले व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी थिइन् । टिसाले १ मिनेट ०३.९६ सेकेण्डको समय निकालिन ।
व्यक्तिगत प्रदर्शनमा सुधार गरेपछि टिसाले आफ्नो लक्ष्य पुरा भएको बताईन् । टिसाले भनिन् , 'व्यक्तिगत समयमा सुधार भएकोमा म निकै खुसी छु । किनकि मेरो टार्गेट पनि यहिँ थियो ।'
चौथो हिटमा रहेको टिसा अन्तिममा रहिन् । समग्रमा टिसा २२ औं स्थानमा रहिन् ।
टिसाले अब ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।