काठमाडौं । समता शिक्षा निकेतन र अरुणोदय माबीले चौंथो संस्करणको सीएससी कप अन्तर विद्यालय फुटसलको उपाधि जितेको छ ।
गोकर्णेश्वरस्थित मनकामना फुटसलमा छात्रतर्फ समता र छात्रातर्फ अरुणोदय च्याम्पियन बनेका हुन् ।
छात्रतर्फ उपाधि जित्ने क्रममा समताले सांग्रिला पब्लिक स्कुललाई टाईब्रेकरमा ११-१० गोल अन्तरले पराजित गर्यो । निर्धारित समय ४-४ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो ।
छात्रतर्फ इस्टपोल माबीले अरुणज्योतिलाई टाईब्रेकरमा ३-१ गोलले हराएर तेस्रो भयो ।
छात्रातर्फको उपाधि भिडन्तमा अरुणोदयले छहारी 'बी' लाई टाईब्रेकरमा ४-३ गोलले पाखा लगायो । छात्रातर्फ छहारी 'ए' ले इस्टपोललाई टाईब्रेकरमै २-१ ले हराएर तेस्रो भयो ।
प्रतियोगितामा छात्रतर्फ दिपेन्द्र तामाङ र छात्रामा अरुणोदयकी जुतिया राई उत्कृष्ट खेलाडी चुनिए ।
छात्रतर्फ सांग्रिलाका मनोज लामा उत्कृष्ट गोलकिपर र सांग्रिलाका स्योनग्याल लामा उदयमान खेलाडी चुनिए । छात्रामा छहारीकी आशिका डुम्राकोटी उत्कृष्ट गोलकिपर र सबिना तामाङ उदयमान खेलाडी बनिन् ।
विजयी खेलाडीलाई गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, जय देवकोटा मेमोरियल कलेजका प्राचार्य भवानी प्रसाद गौतम र प्याब्सन गोकर्णेश्वर नगर प्रमुख मदन रेग्मीले संयुक्त रुपमा पुरस्कृत गरे ।
प्रतियोगितामा २२ स्कुलका छात्रतर्फ २४ र छात्रातर्फ १२ टिमको सहभागिता रहेको थियो ।