काठमाडौं । द ईन्साईट भिजन कलेजले सर्वाधिक पुरस्कार राशीको हब ईन्टरनेश्नल एजुकेशन ईन्टर प्लस टू फुटसल प्रतियोगिताको उपाधि उचालेको छ ।
सोमबार भएको खेलमा कुमारी एकेडेमीलाई सडनडेथमा पराजित गर्दै द ईन्साईट भिजनले उपाधि उचालेको हो ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।
निर्धारित समयको खेलमा द ईन्साईट भिजनका सुजन नेपालीले दुई गोल गरेका थिए । कुमारी एकेडेमीका सुमन लामा र राज तामाङले एक एक गोल गरेका थिए ।
उपाधिसंगै ईन्साईट भिजनले ट्रफी सहित १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको कुमारी एकेडेमीले ६० हजार रुपैयाँमा चित्त बुझायो ।
तेस्रो बनेको साईपाल एकेडेमीले ३० हजार रुपैयाँ प्राप्त गर्यो । साईपालले तेस्रो स्थानका लागि भएको खेलमा सीसीआरसीलाई पराजित गर्यो ।
विधागततर्फ द ईन्साईट भिजनकै सुजन नेपाली उत्कृष्ट गोलकर्ता र सन्कोच राई उत्कृष्ट गोलकिपर घोषित भए । कुमारीका सुमन लामा सर्वोकृष्ट खेलाडी चुनिए । विधागततर्फका उत्कृष्टले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।
एजुकेशन डटकम र भिजन मिडिया ईनकर्पोरेशनले आयोजना गरेको प्रतियोगितामा १७ टिम सहभागी थिए ।
लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।
हब एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजन रहेको प्रतियोगितामा थेम्स कलेज, हेराल्ड कलेज, ईम्पेरियल कलेज, प्राईम एजुकेशन, केआईसी कलेज, सानिमा लाईफ ईन्स्योरेन्स र वर्गर स्याकले प्रायोजकको रुपमा सहयोग गरेका थिए ।
विद्यार्थीलाई खेलकुदको माध्यमबाट जोड्ने उद्धेश्यकले प्रतियोगिताको आयोजना गरिएको भिजन मिडियाका निर्देशक जिवन लामा गोलेले बताए ।
'कलेज स्तरका विद्यार्थीमा रहेको प्रतिभालाई खेलकुदको माध्यमबाट उजागर गर्ने उद्धेश्य सञ्चालन गरिएको प्रतियोगिता सफल भएको छ । अर्को संस्करण अझ भब्य बनाउने कोशिश गर्नेछौ ।' उनले भने ।