काठमाडौं । इन्डोनेसियामा आयोजना हुने १८ औं एसियन गेम्समा सहभागी हुने नेपाली पौडी टोलीले थाइल्याण्डमा विशेष प्रशिक्षण गर्ने भएका छन् ।
विशेष प्रशिक्षणको लागि नेपाली पौडी टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । थाइल्याण्डमा विशेष प्रशिक्षणपछि पौडी टोली इन्डोनेसिया जाने छन् ।
भदौ २ गतेबाट सुरु हुने एसियन गेम्समा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ शिरिष गुरुङ र सुलभ श्रेष्ठ तथा महिलामा गौरिका सिंह र टिसा शाक्यले प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीका मुख्य प्रशिक्षकमा ओङदेन लामा रहेका छन् । शिरिष र सुलभ यसअघि नै थाइल्याण्ड गईसकेका छन् ।
थाइल्याण्ड जाने नेपाली टोलीलाई शुक्रबार ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठ तथा नेपाल पौडी संघका पदाधिकारीले विदाई गरे ।
विदाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पौडीतर्फ नेपालले उत्कृष्ट पदर्शन गरिरहेको र एसियन गेम्समा पनि राम्रो गर्ने विश्वास व्यक्त गरे । यस्तै उनले जापानको टोकियोमा हुने सन् २०२० ओलम्पिकमा वाइल्डकार्ड नभई छनोट भएर भाग लिने लक्ष्य नेपालले लिएकाले एसियन गेम्स महत्वपूर्ण रहने बताए ।
नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले नेपालको तयारी राम्रो भइरहेको र ओलम्पिकमा छनोट हुने लक्ष्य लिएको बताए ।