काठमाडौं । गल्फर बल बहादुर राईले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।
धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा बिहिबार प्रोफेसनल गल्फर शिवराम श्रेष्ठलाई चार स्ट्रोक्सले पछि पार्दै बल बहादुरले उपाधि जितेका हुन् ।
प्रतियोगिताको अन्तिम दिन ३ अन्डर ६७ स्कोर गरेका बलले कुल ९ अन्डर २ सय १ स्कोर बनाए । बल बहादुरको यो दोस्रो उपाधि हो ।
नेपालका पूर्व नम्बर एक गल्फर शिवरामले कुल ५ अन्डर २ सय ५ स्कोर बनाए ।
साविक विजेता शुक्र बहादुर राई कुल एक ओभर २ सय ११ स्कोरसहित तेस्रो स्थानमा रहे ।
उपाधिसँगै बल बहादुरले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे । शिवरामले ७५ हजार पाउँदा शुक्रले ५५ हजार पाए ।
धन बहादुर थापा चौंथो हुँदै ४५ हजार प्राप्त गरे । शिव कुमार माझी र सुर्य प्रसाद शर्मा संयुक्त पाँचौं भए । दिनेश प्रजापति सातौं भए । उनीहरुले ३१/३१ हजार पाए । जयराम श्रेष्ठ र रबि खड्का संयुक्त आठौंमा रहदै २८/२८ हजार पाउँदा संजय लामा र दिपक मगर दशौँमा रहेर समान २४ हजार २५० पाए ।
प्रतियोगितामा ३४ प्रोफेसनल र १६ एमेच्योर गरि कुल ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।